काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन्।
सरकार सञ्चारमाध्यममा आउने कुराको पछि र लोकप्रियताको पछि लाग्न नहुने बताउँदै उनले जनपक्षीय काममा केन्द्रीत हुनुपर्ने बताएका हुन्।
‘तराईमा जनताले चिसोले ज्यान गुमाइरहेका छन्। सरकारले काम गर्ने हो। सञ्चारमाध्यममा केके कुरा हुन्छन्, त्यसमा ध्यान नदिउँ। प्रचार हुने कुरामा नलागौं,’ उनले भने।
उनले सरकारले आजकै दिनबाट सरकारले काम गर्ने अठोट लिनुपर्ने धारणा राखे। त्यसो गर्न सके सरकार सफल हुने र संसदको गरिमा बढाउन सकिने बताएका छन्।
यस्तै ओलीले एकपटक फेरि संसद् विघटन प्रतिगमन नभएको दाबी गरेका छन्।
उनले सरकारबाट संसद् विघटन हुनु प्रतिगमन नभएको टिप्पणी गरे।
‘एकताका प्रतिनिधिसभा विघटन प्रतिगमन भन्ने हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भन्नु प्रतिगमन होइन। यतिधेरै जान्ने पनि नहोऊ,’ उनले भने।
कुठाउँबाट सरकार बनाउनेगरी जानु प्रतिगमन भएको उनको भनाइ थियो। संसदीय व्यवस्था सुरु भएको बेलायतमा धेरैपटक संसद् विघटन भएको भएको बताउँदै उनले मौकाअनुसार नेपालमा व्याख्याहरू भएको दाबी गरे।
यसैगरी उनले माओवादी र एमालेसहित ७ दल मिलेर बनेको नयाँ सत्ता समीकरणी राष्ट्रियताको पक्षमा रहेको पनि बताए। राष्ट्र हितका लागि एकतावद्ध भएर काम गर्ने उनको भनाइ थियो।
प्रकाशित: २५ पुष २०७९, सोमबार १४:३७