पहिलोपटक संसदमा के बोले रवि लामिछानेले ?



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री बनेका रवि लामिछानेले पहिलो पटक संसदमा सम्वोधन गरेका छन्।

छोटो समयमै उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी २० सांसदसहित संसदमा पुगेको हो। निर्वाचनपछि आज पहिलो पटक संसदको बैठक बसेको हो।

बैठकलाई सम्वोधन गर्दै लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताए। उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए।

उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए। ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए।

‘मुलुक र मुलुकबासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन।

यस्तै लामिछानेले आफ्नो दलले पाएको मत निराशा नभई आशाको भएको पनि बताए। लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए। कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु। सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो।’

जनताले जानेर नजानेर राम्रोसँग मत दिएको उनले बताए। नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएको उनले बताए।

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार १४:४८