पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन्।
अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका थिए। लगत्तै गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन्।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन्।
एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए।
तर, प्रदेशको भागबण्डाको टुंगो नलाग्ने ३ दलले सरकार गठनपछिको साझा एजेण्डाबारे र प्राथमिकताबारे शनिबारदेखि नै छलफल गरिरहेका छन्। गण्डकीमा माओवादीको भगमा सभामुख परेको छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार १५:१३