प्रचण्डलाई विश्वासको मत दिने कि नदिने कांग्रेस कार्यसम्पादन समितिले निर्णय गर्ने



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानाकारी दिए।

‘विश्वासको मतबारे केन्द्रीय कार्यसम्पादन बैठकले म्यानडेट दिनेछ । त्यही म्यानडेट लिएर पार्टीको संसदीय दलको बैठक बस्नेछ,’ पाण्डेले भने।

पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरु पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा छलफल गरेर फर्किएका छन्।

कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्ताव

पार्टी पदाधिकारी बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए।

सभापति देउवाको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाएका छन्। ‘आफ्नो नेतृत्वको गठबन्धन टुटिसकेपछि विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राख्नुपर्ने’ धारणा राखेका एक पदाधिकारीले बताए।

देउवाले विश्वासको मत दिनैपर्ने अडान राखेपछि विपक्षमा उभिएका पदाधिकारीहरूले केन्द्रीय कार्यसमिति बैठकमाबाट निर्णय लिनुपर्ने प्रस्ताव राखेका छन्।

तर संसदमा विश्वासको मत लिने समय १ बजेलाई तोकिएको छ। तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्न सम्भव नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

अब कार्यसम्पादन समितिको बैठकमा यसबारे छलफल हुने छ। बैठकमा सभापति देउवाको प्रस्ताव पारित गर्ने र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सम्भावना रहेको एक जना पदाधिकारीले बताए।

Tags :

प्रकाशित: २६ पुष २०७९, मंगलवार ११:५५