काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित विश्वासको मत दिने भएको छ।
आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।
सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन्। ती सर्त पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ।’
नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलेर केही बताएनन्।
उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने बताए।
प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए।
प्रकाशित: २६ पुष २०७९, मंगलवार १२:०९