ओलीको देउवालाई प्रतिप्रश्न- संसद विघटनका गुरुले ममाथि हमला गर्ने ?



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसद विघटनमा शेरबहादुर देउवालाई गुरु माने पनि उनले आफूमाथि नै हलमा गरेको बताएका छन्।

यस अघि पटकपटक संसद् विघटन गर्ने इतिहास देउवाको भएकोले आफूले गुरु माने पनि उनैले आफूलाई हमला गर्नु सुहाउने विषय नभएको बताएका हुन्।

‘संसद् विघटन गरेर १९ माघको प्रतिगमनमा पुर्याएको देउवाजीले नै होइन ? त्योभन्दा अगाडि पनि कतिपटक संसद विघटन भए ? झन् गुरु मान्दा नै हमला ?’ ओलीले भने, ‘
मेरो मित्रलाई मैंले सम्झाएको मात्रै हो। यत्तिसारो स्थिरतावादी किन ?’
ओली अघि बोलेका देउवाले ओलीले फेरि संविधान र व्यवस्थालाई चुनौती दिएपछि कांग्रेस विश्वासको मतको पक्षमा उभिएको बताएका थिए। यसको काउन्टरमा ओलीले देउवालाई आफ्नो गुरु भनेका हुन्।

ओली आफूले दुईपटक गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन नभई स्वभाविक भएको जिकिर गर्दै आएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले अब संसदमा प्रतिपक्ष नै नरहेको बताए। उनले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको उदाहरण दिँदै कांग्रेस पनि सोही हैसियतमा आएको बताए ।

ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनी समेत दिए।

ओलीले भने- यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।

ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताए।                       

Tags :

प्रकाशित: २६ पुष २०७९, मंगलवार १४:४३