आज पृथ्वी जयन्तीमा सार्वजनिक विदा, राष्ट्रपतिले दिइन् शुभकामना



काठमाडौं। आज पृथ्वी जयन्ती। नेपाल एकिकरणको नेतृत्व गर्ने स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ ‍औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन् । उनले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छिन्।

“स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं ।”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

तत्कालिन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि सन्देशमा उल्लेख छ । “तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ ।”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवस्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छिन् । “आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु ।”, शुभकामना सन्देशमा उल्लेख छ ।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार ०८:००