ब्राजिल दंगा : प्रहरी कमाण्डर बर्खास्त, वर्तमान र पूर्व उच्च सरकारी अधिकारीहरु पक्राउ



एजेेन्सी। ब्राजिलमा दंगा मच्याउने उच्च सरकारी अधिकारीलाई पक्राउ गर्न न्यायीक अधिकारीले आदेश दिएका छन् । ब्राजिलमा आइतबार राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत सहित कयौँ सरकारी भवनमा आक्रमण भएको थियो ।

चुनावमा पराजित भएका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकले गरेको आक्रमणको विश्वभरबाट आलोचना भइरहेको छ । यो आक्रमणमा केहि वर्तमान र केही पूर्व उच्च सरकारी अधिकारी सामेल रहेको सरकारले जनाएको छ । ब्राजिलका न्यायीक अधिकारीले दंगा मच्याउने नेतृत्व गर्ने उच्च अधिकारीको खोजी गरिरहेको बीबीसीले जनाएको छ। सैन्य प्रहरीका पूर्व कमाण्डर रहेका एक अधिकारीलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दंगालाई बढावा दिने काम गरेको आरोपमा अधिकारीहरूले ब्रासिलियाका पूर्व सार्वजनिक सुरक्षा प्रमुख एन्डरसन टोरेसलाई पक्राउ गरेका छन् । टोरेसले भने दंगामा आफन् कुनै पनि भूमिका अस्वीकार गरेका छन् । यसअघि पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कांग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेपछि प्रहरी कमाण्डर कर्नल फाबियो अगस्टोलाई उनको भूमिकाबाट बर्खास्त गरिएको थियो।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (जसलाई व्यापक रूपमा लुला भनेर चिनिन्छ) उनले शपथ लिएको एक हप्ता पछि यो दंगा भएको हो। पूर्व राष्ट्रपतिका हजारौँ समर्थकले राजधानीमा आतंक मच्याएका थिए । उनीहरुका कारण ब्राजिलको राजधानी राज्यविहिन जस्तो भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

दंगापछि पक्राउ गरी प्रहरी एकेडेमीमा ल्याइएका १५ सय जना व्यक्तिहरूमध्ये करिब ६ सय जनालाई अन्यत्रै पठाइएको छ । उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी छ।

प्रकाशित: २७ पुष २०७९, बुधबार ०८:२०