प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलोपटक गोरखा जाँदै



काठमाडौं। प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल प्रचण्ड आज पहिलोपटक गोरखा जाँदैछन्।

मंसिर ४ गते भएको चुनावमा गोरखाबाट चुनाव जितेका प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा जान लागेका हुन्।

हरमटारी मैदानमा हुने गोरखा महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रचण्डको साथमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पनि गोरखा जादैछन्।

दिउँसो १२ देखि १ बजेको समयमा प्रधानमन्त्री चढेको हेलिकप्टरमार्फत आइपुग्ने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीसहितका सुरक्षा प्रमुख आउने भएकाले गोरखामा मंगलवारदेखि नै सुरक्षा सतर्कता बढाइएको छ।

बुधवार महोत्सव उद्घाटन कार्यक्रम हुने हरमटारी खेलकुद मैदान आसपास र सालिक निर्माण गरिएको आसपासको क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

प्रचण्डसहित चार वटै सुरक्षा निकायका प्रमुख पनि बुधवार गोरखामा जाँदैछन्। ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी’ शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जाँदैछन्।

उनका साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी पनि गोरखा जाँदैछन्।

 

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार ०८:३१