मधेसको मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश



काठमाडौं। मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

६३ सांसदको समर्थनसहित यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।

सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति अनुसार यादवले पेश गरेका हुन्।

मधेश प्रदेशसभामा १०७ सांसद छन्। बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।

सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ ९२० बाट निर्वाचित भएका हुन्।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १२:३४