कर्णालीमा माओवादी- एमाले आलोपालो सहमतिपछि गाँठो फुक्यो



सुर्खेत। कर्णाली प्रदेश सरकारमा आलोपालो नेतृत्व गर्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ।

केन्द्रमा शीर्ष नेताबीच पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भए पनि कर्णालीमा त्यो उल्टिएको हो। साढे दुई वर्षका दरले मुख्यमन्त्री आलोपालो बन्ने सहमति भएको हो।

प्रदेश सदस्य टेकराज पछाईंले सुरुमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा र त्यसपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको बताए।

शर्माले प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन्।

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ तथा १ जना स्वतन्त्र गरी ४० सांसद रहेका छन्।

Tags :

प्रकाशित: २७ पुष २०७९, बुधबार १६:५५