नेकपा एस र जसपाबीच पार्टी एकताका लागि पहिलो वार्ता हुँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको लागि गठित कार्यदलबी पहिलो वार्ता तय गरिएको छ।

अहिले साढे १२ बजे दुई दलका एकता कार्यदलबीच सिंहदरबारमा छलफल हुन लागेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

दुवै पार्टीले विचार मिल्नेसँग पार्टी एकता गर्नका लागि कार्यदल गठन गरेका थिए । जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

भने नेकपा एसको तर्फबाट महासचिव बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

मुलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई निकै कसरत गर्नुपर्ने नेताहरूले बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी एकतामा जोड दिएपछि नेकपा एसले वाम ध्रुवीकरणलाई प्राथमिकता दिएको कारणले दुई दलबीचको एकताको मिलनविन्दु भेट्न मुस्किल गर्ने आँकलन छ ।

जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले पनि वामपन्थी एकताको लागि भन्दै कार्यदल बनाएको छ । दुई पार्टीबीच एकताको गृहकार्य अघि बढ्दै गर्दा माओवादीले अनौपचारिक छलफल गरिरहेको छ ।

माओवादीको शनिबार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एस, जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको पहल गरिरहेका छन्।

 

प्रकाशित: २८ पुष २०७९, बिहीबार १२:१३