मधेशमा पहिलो पटक एमाले सरकारमा सहभागी हुँदै



काठमाडौं। नेकपा एमाले पहिलो पटक मधेश प्रदेशको सरकारमा सहभागी हुँदैछ।

मधेश प्रदेश सभाको ठूलो दल एमालेले ३ वटा मन्त्रालयमा दाबी गरेको छ।

अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन्। प्रदेशमा १० वटा मन्त्रालय छन्।

सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख पद पनि पाएको छ।

२०७४ सालको निर्वाचनपछि गठन भएको प्रदेशसभामा एमाले पाँचै वर्ष सरकारबाहिर रहेको थियो। यसपटक २३ सिटसहित पहिलो शक्ति बनेको एमालेले १६ सिटको जसपालाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।

६३ सांसदको समर्थनमा बुधबार जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको समर्थन छ।

केन्द्रीय सत्ता समीकरण अनुसार यो प्रदेशमा जसपा र जनमत आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति छ।

Tags :

प्रकाशित: २८ पुष २०७९, बिहीबार १४:२५