काठमाडौं। जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ।
भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाण्डभित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले होल्डमा राखेको छ। सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए। उनले भने- ‘केही ट्रकहरू होल्डमा छन्।’
जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन्। ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग गरिने कागज कमजोर गुणस्तरको सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन गरेको थियो।
अनुगमनको क्रममा ९४ जिएसएम भन्दा माथिको कागज सप्लाई गर्ने सम्झौता भएको तर, ती कम्पनीले ७० जिएसएम को कागज सप्लाई गरेको भेटिएको पाठ्यक्रम विकाश केन्द्रका एकजना अधिकृतले बताए।
अनुगमन पछि पाठ्यक्रमले कम गुणस्तरका कागज फिर्ता गरेर सम्झौता अनुसारकै कागज ल्याउन भनेको थियो। तर, कागज कम्पनीले त्यहाँबाट फिर्ता लगेको कागज केही दिन मनोहरा खोला छेउको ग्यारेजमा राखेर पुनः त्यहि कागज जनक शिक्षाको कार्यालयमा अनलोड गर्न लगेको आरोप छ।
सम्झौताअनुसार कागजको गुणस्तर ९४ जिएसएम र ‘ब्राइटनेश’ हुनुपर्छ । तर, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झासँग मिलेर कागज कम्पनीहरूले सम्झौता अनुसार ९४ जिएसएमकै भुक्तानी लिएर कम गुणस्तरको कागज सप्लाई गरेको आरोप छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार १५:१३