घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै, कम्युनिष्ट पार्टी एक बनाउन पहल गर्ने



काठमाडौं। नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल आज शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैछन्। शुक्रवार २ बजे नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए। तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उनले झन चर्को विरोध गरे। यस्तै चितवन महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उनले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिए। तर पराजित भए। भुसालले अब एकीकृत समाजवादीमा रहेर ठूला कम्युनिष्ट पार्टीलाई एक बनाउन पहल गर्ने बताएका छन्।

समाजवादीले भुसाललाई महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै पार्टी प्रवेश गर्नका ‘स्वागत पत्र’ पठाएको थिए। यसअघि भुसालले पठाएको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा उक्त ‘स्वागत पत्र’ पठाइएको हो।

महासचिव दाबी गरिरहेका भुसाललाई कुनै जिम्मेवारी हालम्म नछुट्याइएको भएपनि उनको इतिहासको उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक छ। कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साथ रहँदा पनि निर्वाचनमा पराजय व्यहोरेपछि भुसाल फेरि दलगत राजनीतिमा फर्किन लागेका हुन्।

Tags :

प्रकाशित: २९ पुष २०७९, शुक्रबार ०८:२५