विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन्। यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।
आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् ।
नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् ।
एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ) लाई यसअघि मन्त्री बनाइसकिएको छ।
प्रकाशित: २९ पुष २०७९, शुक्रबार ११:५९