काठमाडौं। उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्।
सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार बिहान २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन्।
धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। अब अदालतले केन्द्रीय कारागार सुनधरामा सन्दीपलाई रिहा गर्न पत्र पठाउने छ। त्यसपछि सन्दीपलाई तारिख बुझ्नको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।
स्वास्थ्य परीक्षण पछि मात्रै सन्दीप रिहा हुनेछन्।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए।
उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।
उक्त आदेश अनुसार धरौटी लिएर सन्दीपका आफन्त जिल्ला अदालतमा पुगेका हुन्। गत धदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ।
असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो।
तीन महिना एकसाता थुनामा बसेपछि उनी रिहा हुन लागेका हुन्।
प्रकाशित: २९ पुष २०७९, शुक्रबार १२:३१