वागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित



हेटौंडा। वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बेनका उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरे। पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गरे। सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन्। नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन।

वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए।

नेपाली कांग्रेसका एकजना प्रदेशसभा सांसद मतदानमा अनुपस्थित भएका थिए । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुन्।

Tags :

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १४:११