काठमाडौं। १७ पुसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनी अझै एउटै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
अंग्रेजी नयाँ वर्ष २०२३ को शुभारम्भसँगै विमानस्थल सञ्चालन हुँदा स्थानीय र पर्यटन व्यवसायी हर्षित बनेपनि उडान नहुँदा पोखरेलीहरु निरास बन्न थालेका छन्।
विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।
उद्घाटनको दिनमा बुद्ध एयरले पोखरा–बनारस, बनारस–पोखरा उडान गर्न अनुमति मागे पनि कुनै रेस्पोन्स नआएपछि उडान भएन।
काठमाडौंबाट पोखरा डमेन्स्टिक उदानबाटै विमानस्थल उद्घाटन भएको थियो।
नेपालकै वायु सेवाहरू नेपाल एयरलाइन्स, हिमालयन र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने चर्चा भएपनि कसैले उडान थालेका छैनन।
विदेशी वायु सेवा कम्पनीले भने पोखरामा उडानका लागि अनुमति मागेका छैनन।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भने छिट्टै अन्तराष्ट्रिय उडान हुने दाबी गर्दैआएको छ।
दुई महिना भत्र अन्तर्राष्ट्रिय उडान हुने क्यानका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।
‘नेपालको वायु सेवाले भारतलगायत विभिन्न देशमा उडानका लागि अनुमति मागेका छन्। विदेशी वायु सेवा कम्पनीले नेपालमा उडानका लागि हामीसँग अनुमति माग्छन् हामी त्यो अनुमति दिन तयार छौं, अब २ महिनाभित्रमा अन्तराष्ट्रिय उडान हुन्छ’ निरौलाले भने।
विदेशी एयरलाइन्स पनि पोखरामा उडान भर्न चाहिरहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने काम उनीहरूबाट भइरहेको क्यानको भनाइ छ।
हालसम्म नेपालका तीन वायु सेवा कम्पनीले भारतलगायत विभिन्न देशमा उडानका लागि अनुमति लिन निवेदन दिएका छन्।
आफूहरुले अनुमति पाएलगत्तै उडान सुरु गर्ने बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन्।
४७ वर्षपछि अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आएको हो।
०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्न सुरु भएको थियो।
सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो। कोरोनाको कारण निर्माणको काम नसकिएर २०२३ को पहिलो दिन उद्घाटन गरिएको हो।
प्रकाशित: ३० पुष २०७९, शनिबार ०८:३४