खाल्डोबाट बालकको शव गाडियो, आमा र सौतेनी आमा नियन्त्रणमा



काठमाडौं। डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ।

घरनजिकै खाल्डोमा पुरिएको शव निकालिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

‘शव पूरै सडेको अवस्थामा छ, घटना केही दिनअगाडि भएको जस्तो देखिन्छ,’ उनले भने, ‘मुचुल्का उठाउँदै छौं।’

हत्याको कारण खुल्न सकेको छैन। घटना अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘घटना शंकास्पद देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक बडूले भने।

अनुसन्धानका लागि प्रहरीले बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीया जानकी बोहरालाई नियन्त्रणमा लिएको हो।

मृतक बालक बोहराको घरमा दुई आमा र उनका दाइ बस्थे। बुवा रोजगारीका लागि भारतमा छन्।

डाँडाखर्कका बोहरा पुस १२ देखि घरपरिवारको सम्पर्कमा थिएनन्।

पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि घरपरिवारसँग बुझ्दा बालक १२ गतेदेखि सम्पर्कमा नरहेको खुलेको थियो।

बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन गर्दा शव फेला परेको हो।

Tags :

प्रकाशित: ३० पुष २०७९, शनिबार १४:३६