खुसी हुन योगलाई आत्मसात् गर्न जरुरी छ : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मसात् गरे मात्र मानिस खुसी हुन सक्ने बताएका छन् ।

आठौँ राष्ट्रिय योग दिवसका आवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक विकासले मात्र मानिस जातीको रक्षा गर्न नसक्ने बताए । उनले भने-‘भौतिक विकासले मात्र मानिस खुसी हुन सक्दैन, भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र जीवन सार्थक बनाउन सकिन्छ । ‘

योको आवश्यकताबारे नेपाल सरकारले शिक्षाका माध्यमबाट जनमानसमा पुर्‍याउने काम गर्ने प्रचण्डले प्रतिबद्धता पनि जनाए । योग शिक्षा र साधनालाई विद्यालय स्तरबाटै प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ थियो ।

पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको सन्दर्भमा रोगलाई रोक्ने सर्वोत्तम उपाय पनि योग हो भन्ने कुरा भुल्न नहुनेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसारका विकसित भनिएका मुलूकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’           

प्रकाशित: १ माघ २०७९, आईतवार १०:३९