विहानैदेखि खोजी जारी, ३ जना अझैं भेटिएनन्, ११ शवको मात्र पहिचान

पहिचान भएका शव आजै आफन्तलाई बुझाइने



पोखरा। पोखरामा आइतबार भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज सोमबार पनि विहानैदेखि खोजी र उद्धारको काम भइरहेको छ।

विमानमा रहेका ७२ जनामध्ये आइतबार रातिसम्म ६९ जनाको शव भेटिएको छ। अझै ३ जनाको शव भेटिएको छैन।

हराएका शव सेती नदीको पानीमा वा भीरमा अड्किएको हुन सक्ने शंका छ। अफ्ठेरो ठाउँ भएकाले उद्दारमा समस्या भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको उनले बताए।

पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ। काठमाडौंका, आफन्त काठमाडौं नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ।

प्रहरीका अनुसार धेरैजसो शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन्। अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए।

विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिजा र फ्रान्सका एक/एक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Tags :

प्रकाशित: २ माघ २०७९, सोमबार ०८:३७