सुदूरपश्चिममा तेस्रो प्रयासमा भीम भण्डारी सभामुखमा निर्वाचित



काठमाडौं। सुदूरपश्चिममा तेस्रो पटक भएको मतदानबाट सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।

यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो।

सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।

दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुन: मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।

प्रकाशित: ३ माघ २०७९, मंगलवार १२:३०