पाँच दलका १५ नयाँ सांसदले पाए पहिलोपटक मन्त्री बन्ने अवसर



काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा पाँच दलका १५ जना नयाँ सांसदले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन्।

तीन राज्यसहित २५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था अनुसार २२ जना फुल मन्त्री बनाउँदा ९ नयाँले अवसर पाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै मन्त्री नयाँ हुन्।

मंगलबार विस्तार भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा माओवादीबाट सुदर किराती, अमनलाल मोदीले पहिलो पटक मन्त्रीको अवसर पाएका हुन्।

यी दुवैजनाले लगातार तीनपटक सांसद जितेका छन् र तेस्रो पटकमा बल्ल मन्त्री बन्ने अवसर पाएका छन्।

एमालेबाट धनकुटाका सांसद राजेन्द्रकुमार राई, पर्वतका सांसद पदम गिरी, बैतडीका दामोदर भण्डारी, सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी, सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हरि उप्रेती र राष्ट्रिय सभा सदस्य विमला शर्मा पौड्यालले पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सांसद ध्रुबबहादुर प्रधानले पनि पहिलो पटक मन्त्रालयको नेतृत्व पाएका छन्।

रास्वपाबाट सबै नयाँ
नयाँ पार्टी गठन गरेको ६ महिनामै प्रतिनिधि सभाको २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका सबै मन्त्री नयाँ हुन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्रालय हाँक्दैछन्।

त्यसैगरी जनमत पार्टीका अब्दुल खान पनि पहिलो पटक मन्त्री बन्दैछन्। जनमत अध्यक्ष डा. सीके राउतले मन्त्री नबन्ने बताएपछि उनले अवसर पाएका हुन्।

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १३:२६