प्रचण्ड सरकार : १९ नयाँ अनुहार

६ महिला, दलित राज्यमन्त्रीमै सीमित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय पुर्‍याएका छन्।

मंगलबार (आज) दिउँसो विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् २३ सदस्यीय बनाएका हुन् । एकजना राज्यमन्त्रीले शपथ लिन बाँकी छ ।

माओवादीकी शुशिला श्रीपाली काठमाडौं बाहिर भएकाले शपथमा उपस्थित हुन सकिनन् । अब प्रधानमन्त्रीले प्रचण्डले २ जना मात्रै मन्त्री थप्न पाउनेछन् । संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद २५ जना भन्दा बढिको बनाउन पाइदैन ।

 

२ वटा मन्त्रालय जसपाका लागि राखिएको छ । सरकारमा जान ठिक्क परेको लोसपालाई भने सरकारमा सामेल नगर्ने निर्णय सत्ता साझेदार दलले गरेका छन् ।

मन्त्रिपरिषद्‌मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका छन् । एमालेले ८ वटा मन्त्रालय पाउँदा माओवादी केन्द्रले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले क्रमश: ३/३ वटा पाएका छन् ।

जनमत पार्टीले १ मन्त्रालय पाएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पनि पाएका छन् । विस्तारित मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक राज्यमन्त्री मात्रै बनेका छन् । दलित समुदायकी सुशीला श्रीपालीलाई माओवादीले पर्यटन राज्यमन्त्री बनाएको छ ।

८ वटा मन्त्रालय पाउँदा पनि नेकपा एमालेले एउटै दलितलाई अवसर दिएन । मन्त्रिपरिषदमा धेरै नयाँ अनुहार छन् । सरकारमा २३ मध्ये १९ नयाँ अनुहार छन् । अर्थात उनीहरु पहिलो पटक मन्त्री बनेका हुन् ।

प्रधानमन्त्रि प्रचण्डसहित एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र राप्रपाका विक्रम पाण्डे मात्रै अनुभवी अनुहार हुन् । मन्त्रिपरिषदमा चारजना उपप्रधानमन्त्री बनेका छन् । यसअघि तीनजना उपप्रधानमन्त्री रहेकोमा राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेन थपिएका छन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

सरकारमा सात जना महिला परेका छन् । एमालेले विमला राई पौडेललाई परराष्ट्र मन्त्रालयको जिम्मा दिएको छ । उनी परराष्ट्रमन्त्री बन्ने तेस्रो महिला हुन् । यसअघि सहाना प्रधान र सुजाता कोइराला परराष्ट्रमन्त्री बनेका थिए । मधेसी समुदायबाट चारजना मन्त्री बनेका छन् । ति मध्ये दुईजना थारु छन् ।

मुस्लीमबाट एकजनाको प्रतिनिधित्व भएको छ । जनमत पार्टीले अब्दुल खानलाई मन्त्री बनाएको छ । ठुला दलले मुस्लिमबाट मन्त्री बनाएनन् ।

कसले कुन मन्त्रालय पाए ?

प्रधानमन्त्रीः

–पुष्पकमल दाहाल ‘प्रचण्ड’

उपप्रधानमन्त्रीहरूः

–विष्णु पौडेल, अर्थमन्त्री

–रवि लामिछाने, गृहमन्त्री

–राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

–नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री

मन्त्रीहरूः

ज्वालाकुमारी साह, कृषिमन्त्री

दामोदर भण्डारी, उद्योगमन्त्री

राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारीमन्त्री

अब्दुुल खान, टुङ्गिन बाँकी

विमला राई पौडेल, परराष्ट्रमन्त्री

पदम गिरी, स्वास्थ्यमन्त्री

भगवती चौधरी, महिला बालबालिकामन्त्री

हरि उप्रेती, रक्षामन्त्री

रेखा शर्मा, सञ्चारमन्त्री

सुदन किराती, पर्यटनमन्त्री

अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री

डोलप्रसाद अर्याल, श्रममन्त्री

शिशिर खनाल, शिक्षामन्त्री

ध्रुवबहादुर प्रधान, कानुनमन्त्री

विक्रम पाण्डे, सहरी विकासमन्त्री

तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री

सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री

दिपकबहादुर सिंह, सहरी विकास राज्यमन्त्री

Tags :

प्रकाशित: ३ माघ २०७९, मंगलवार १४:४९