काठमाडौं। बिक्रम पाण्डे कालिका कन्स्ट्रक्सन प्रालिका हुन्। उनी प्रचण्ड सरकारमा शहरी विकास मन्त्री बनेका छन्।
पाण्डे राप्रपाका उपाध्यक्ष पनि हुन् तर उनी राजनीतिज्ञ भन्दा बढी व्यवसायी हुन्।
दर्जनौं ठेक्का लिएर काम अलपत्र पार्ने कम्पनीका रुपमा पाण्डेको कम्पनी बदनाम छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाईमा कालिका कन्स्ट्रक्सनले अनियमितता र बदमासी गरेको सार्वजनिक भएको थियो।
सिँचाईको नहरमा परीक्षणका लागि पानी पठाउँदा नहर नै भत्किएपछि कालिका कन्स्ट्रक्सनको बदमासी बाहिर आएको थियो । अख्तियारले छानबिन गरेर कालिकासहितका ठेकेदारविरुद्ध मुद्दा दायर गरिसकेको छ । विशेष अदालतमा दायर मुद्दामा आयोगले कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेविरुद्ध करोडौं अनियमितता गरेको अभियोग लगाएको छ।
पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले अन्य एक दर्जनभन्दा बढी आयोजना पनि अलपत्र पारेको छ । ती आयोजना कहिले सकिन्छन् भन्ने कुनै ठेगान छैन ।
कालिका कन्स्ट्रक्सनले मोरङमा लिएको एउटा ठेक्का निर्धारित दुई वर्षभित्र पूरा गरेन । पटकपटक भेरिएसनका नाममा ठेक्काको म्याद थपसँगै परियोजना लागतमा समेत करोडौँको वृद्धि हुँदासमेत निर्माण कार्य समयमै सकिएन ।
एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम सम्पन्न गर्न ६ पटक म्याद थप गरिसकिएको छ।
२ अर्ब ३९ करोडमा निर्माणको ठेक्का लगाइएको परियोजनाको चार पटक भेरिएसन गरी ६ पटक म्याद थप गर्दा लागत ३ अर्ब १० करोडभन्दा माथि पुगेको छ ।
कालिका कन्स्ट्रक्सन कम्पनीले स–साना ठेकेदार कम्पनीसँग मिलेर देशैभरिका ठूला ठेक्कापट्टा हातमा लिने र समयमा काम सम्पन्न नगर्ने गरेको आरोप लागेको छ । तर राजनीतिक पहुँचका कारण कालिकाको बदमासी कारबाहीको दायरामा आउन सकेको छैन ।
पाण्डेमाथि चितवनमा सार्वजनिक जग्गा हत्याउन खोजेको आरोप पनि लागेको थियो । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा करिब दुई बिघा जमिन पाण्डेको संलग्नतामा भूमाफियाले कब्जा गरेका थिए । तर पछि उक्त जमिन सरकारले फिर्ता ल्याएको थियो।
कुनै अर्को व्यक्तिका नाममा गरेर पाण्डेले पछि उक्त जग्गा आफ्नो बनाएका थिए । तर रत्ननगर नगरपालिकाले उक्त जग्गा फिर्ता गरेको थियो ।
पाण्डेले अमेरिकामा समेत घर रहेको बताएका छन् । अर्थात यता कमाएको रकम उनले उता लगेर थुपार्ने गरेका छन् । उनले अमेरिकाको ग्रीनकार्ड समेत लिइसकेको चर्चा पहिले नै भएको थियो । आफ्ना बदमासी छोप्न उनले कैयौं मिडिया समेत चलाइरहेका छन् ।
उनै पाण्डे अहिले शहरी विकास मन्त्री बनेका छन् । ठुलो बजेट रहेको यो मन्त्रालयमा सयौं ठेक्का पट्टाको काम हुन्छ । बदनाम ठेकेदारलाई नै स्वार्थ बाझिने मन्त्रालयको जिम्मा लगाएकोमा अहिले समाजिक संजालमा चर्को आलोचना सुरु भएको छ ।
कतिपयले दुधको रखवाली गर्न जिम्मा विरालोलाई दिइएको टिप्पणी समेत गरेका छन् । सत्ता बाहिर हुँदा समेत राजनीतिक प्रभावमा पारेर अनेक चलखेल गर्ने पाण्डेले मन्त्री नै बनेपछि केके गर्ने हुन् हेर्न बाँकी छ।
प्रकाशित: ३ माघ २०७९, मंगलवार १६:१६