झापाबाट निर्वाचित एमालेका घिमिरे सभामुखको उम्मेद्वार बन्ने



काठमाडौं। सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ।

एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो।

सोही सहमति अनुसार माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी घिमिरेलाई उम्मेदवार बनाउन लागिएको हो।

यसअघि एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि एमाले अध्यक्ष ओलीले विश्वकर्मा र भट्टराई भन्दा घिमिरे उपयुक्त हुने भन्दै उनैलाई अघि सारिएको हो ।

अध्यक्ष ओलीले घिमिरेलाई आज सभामुखको उम्मेदवारी दिने कार्यक्रम भएकाले तयारी गर्न निर्देशन दिएका छन्।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । बुधबार ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।

 

Tags :

प्रकाशित: ४ माघ २०७९, बुधबार ११:१४