कांग्रेसले सभामुखमा महिला उठाउने, निर्णय गर्न संसदीय दलको बैठक



काठमाडौं। नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ।

यसका लागि १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको उनले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको जानकारी दिएका थिए । समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहीन भएर कांग्रेस नबस्ने उनको भनाई थियो ।

प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताएका थिए।

Tags :

प्रकाशित: ४ माघ २०७९, बुधबार १३:१३