७७ लाख लुटेपछि पक्राउ परे मनराज



काठमाडौं। श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई तिमालस्थित घर नजिकैबाट मंगलबार पक्राउ गरेको हो। उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

१० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ। ०६८ असोज २२ गते ललितपुरको सिरुवारीमा लुटपाटका क्रममा उनले गोली चलाउँदा श्रवण खड्काको मृत्यु भएको थियो। सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका हुन्।

जेलबाट छुटेपछि उनले गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएका थिए भने अनुसन्धानको क्रममा उनी फरार थिए। उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ।                       

Tags :

प्रकाशित: ४ माघ २०७९, बुधबार १६:००