काठमाडौं। मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
यस्तै सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ।
बैठकमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो। सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताए।
‘विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले गर्व बोध गरोस् र राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समति गठन गर्ने निश्कर्षमा मन्त्रिपरिषदको आजको बैठक पुगेको छ’ उनले भने।
प्रकाशित: ४ माघ २०७९, बुधबार १८:३९