प्रतिनिधिसभाले आज सभामुख पाउने, कांग्रेसका न्यौपाने र एमालेका घिमिरे भिड्दै



काठमाडौं। संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुखको लागि आज विहिबार संसदमा मतदान हुँदैछ । विहान ११ बजेपछि बस्ने बैठकमा मतदान हुनेछ । सभामुखको लागि सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई र नेपाली कांग्रेससहितका दलले कांग्रेसकी इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

झापाबाट निर्वाचित घिमिरेलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सरकारमा सहभागि दलहरुको समर्थन रहेको छ। घिमिरेको बहुमत आउने पक्का जस्तै छ।

यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसद बनेकी ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । एकिकृत समाजवादी, जसपा र लोसपाका सांसदले पनि न्यौपानेलाई सघाउने सम्भावना छ । एकिकृत समाजवादी त समर्थक नै बसेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बुधबार पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

कसको पल्लाभारी ?

निर्वाचनमा प्रतिस्पर्धा हुँदा घिमिरे नै बलियो देखिन्छन् । सभामुखको निर्वाचनमा सांसद नै मतदाता हुन्छन् । मतदाताको सङ्ख्या हेर्दा घिमिरे नै निर्वाचित हुने बलियो सम्भावना देखिन्छ ।

घिमिरेको पक्षमा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ३ सांसद छन् । राप्रपाका १५ सांसद भए पनि जेष्ठ सदस्यका हैसियतमा पशुपतिशमशेर जबराले सदन चलाउने भएकाले मत दिन पाउने छैनन् ।

यसरी हेर्दा घिमिरेको पक्षमा १५३ सांसद देखिन्छन् । दलका अलावा स्वतन्त्ररूपमा निर्वाचित केही सांसद पनि सत्ता गठबन्धनको पक्षमा देखिन्छन् । प्रभु साह, अमशेरकुमार सिंहलगायतका स्वतन्त्र सांसद संसद्‌मा सत्ता पक्षमा बस्ने गरेका छन् ।

सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत १३८ सांसद आवश्यक पर्दछ ।

यता न्यौपानेको पक्षमा ११४ सांसद देखिन्छ । कांग्रेसले नयाँ गठबन्धन बनाएको छ । उसलाई नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), र लोकतान्त्रिक समाजवादी (लोसपा) ले पनि समर्थन गरेका छन् ।

यसरी हेर्दा कांग्रेसका ८८, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ गरी न्यौपानेको पक्षमा ११४ सांसद जुट्ने देखिन्छ । कांग्रेसले प्रतिनिधि सभामा सबैभन्दा धेरै ८९ सिट जितेको थियो । तर, कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।

Tags :

प्रकाशित: ५ माघ २०७९, बिहीबार ०८:२६