नेपाली कांग्रेस ‘प्रजा परिषद्’ हुनसक्ने चिन्ता



काठमाडौं। चुनावी गठबन्धनलाई कायम राख् नसक्दा संघीय र सबै प्रदेश सरकारबाट हात धुनुपरेको कांग्रेस कम्जोर हुँदै गएको चिन्ता पार्टी पंत्तिमा व्यक्त हुन थालेको छ।

देशको सबैभन्दा ठूलो, पुरानो दल भएर पनि कमजोर हुँदै गएको चिन्ता कांग्रेस पंक्तिमा बाक्लो हुँदै गएको छ। हालै सम्पन्न आम निर्वाचनमा समानुपातिक मत उल्लेखनीय रूपमा घटेको छ भने अर्कोतिर सरकारबाट हात धुनु परेको छ।

अहिलेको गठबन्धन सरकार कायमै रहेमा कांग्रेसले पाँच वर्ष राज्यसत्ताका सबै अवसरबाट बाहिर रहन तयार हुनुको कुनै विकल्प देखिन्न । एमाले र माओवादीबीच भाँजो हालेर राष्ट्रपति पद हात पार्न सकिन्छ कि भनेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दियो । तर, पार्टीभित्र दुई महामन्त्री लगायतको ‘नोट अफ डिसेन्ट’ का बाबजुद देउवा पक्षको यो निर्णयबाट कांग्रेस झनै ठूलो संकटमा फसेको छ ।

यसले कांग्रेसको प्रमुख प्रतिपक्षको भूमिका नैतिकरूपमा कमजोर भयो तर, राष्ट्रपति पद हात पार्ने सम्भावना पनि देखिएन । खासमा कांग्रेसलाई कुनै फाइदा भएन। सत्ता गठबन्धनमा सामेल दलले सभामुख र राष्ट्रपति दुवै एमालेलाई दिने निर्णय गरिसकेका छन्। कांग्रेसले विश्वासको मतका रूपमा थापेको ‘च्याँखे दाउ’ खेर गएको छ।

कांग्रेसका नेता कायकर्ताले यसको दोष सभापति शेरबहादुर देउवा र उनको कार्यशैलीमाथि थोपरिरहेका छन्। विश्लेषकका अनुसार सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी सञ्चालन गर्ने तरिका, कार्यशैली र असंगत निर्णयले कांग्रेस दिनप्रतिदिन कमजोर मात्रै हुुँदै छैन, असान्दर्भिक हुने र पार्टी नै समाप्त हुन सक्ने जोखिमसमेत बढेको छ । यही तरिका हो भने नेपाली कांग्रेस कुनै दिन प्रजा परिषदजस्तै हुन सक्दछ ।

कांग्रेसनिकट मानिने विश्लेषक पुरञ्जन आचार्यले एक टिभी अन्तर्वातामा भनेका छन्–‘३६–३७ प्रतिशत भोट ल्याउँदै आएको कांग्रेस हालै सम्पन्न चुनावमा २५ प्रतिशतमा झर्‍यो । करिब सात लाख भोट घट्यो । प्रचण्ड सरकारलाई समर्थन पनि दिने र प्रतिपक्षमा पनि बस्ने निर्णयपछि आजका मितिमा चुनाव हुने हो भने कांग्रेस अझै घट्छ, कांग्रेसले १९ प्रतिशतभन्दा बढी मत ल्याउन सक्दैन ।’

आचार्य देउवाको कार्यशैलीमाथि बलियो हस्तक्षेप गर्न नसकेकोमा शेखर कोइराला र गगन थापा पक्षसँग समेत असन्तुष्ट देखिन्छन् । उनी प्रश्न गर्छन्–‘व्यक्ति हिरो भएर केही हुँदैन, नेपाली कांग्रेस पार्टी नै सकियो भने गगन र विश्वप्रकाश मिडियामा हिरो भएर के हुन्छ ?’

‘लोकतान्त्रिक स्पेश’ हिजो नेपाली कांग्रेसका लागि एक्लै उपलब्ध थियो, यो राजनीतिक स्पेशमा अर्को कुनै पार्टी थिएन । तसर्थ, कांग्रेसका अनेक कमजोरी र सीमाका बाबजुद लोकतान्त्रिक मतदाताले कांग्रेसलाई भोट दिँदै आएका थिए । विश्लेषक ठान्दछन् कि अब त्यस्तो स्थिति रहेन ।

हिजो राजावादी र कम्युनिस्ट हुन नचाहनेहरू स्वतः कांग्रेस हुन्थे । अब राजावादी र कम्युनिस्ट बाहेकका धेरै लोकतान्त्रिक पार्टी र समूह अगाडि आइसके । छनोटका विकल्प धेरै भइसकेकाले लोकतान्त्रिक मतदाता कांग्रेसलाई नै भोट हाल्न बाध्य छैनन् । यो नेपाली कांग्रेसको राजनीतिक भविष्यका लागि ठूलो चुनौतीको विषय हो ।

कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले एक अन्तर्वार्तामा ‘कांग्रेसका लागि लोकतान्त्रिक स्पेश संकुचन हुँदै गएको’ स्वीकार गरेका छन् ।

कतिपयले देउवा इतर खेमाका नेता शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले दोहोरो चरित्र देखाएको वा पार्टी हितका लागि देउवालाई पर्याप्त दबाब नदिएर लाचार बन्दै गएको आरोपसमेत लगाएका छन् । उनीहरूले पार्टीभित्र ‘नोट अफ डिसेन्ट’ लेखे पनि देउवामाथि बलियो र गम्भीर दबाब बनाउन नसकेको आरोप छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका अभिव्यक्ति र भूमिकाप्रति पनि कांग्रेस पंक्तिमा व्यापक आशंका उत्पन्न भएको छ । उनले कुनै निश्चिचता नभएको राष्ट्रपति पदको लोभका लागि कांग्रेसलाई अनावश्यक रूपमा फसाएको ठान्नेहरू बढ्दै गएका छन्। रामचन्द्र पौडेलको ‘कम्युनिस्ट मोह’ उनकै वैचारिक आर्दशविपरीत बुढेसकालको लालच मात्रै भएको भन्दै आलोचना बढ्दै गएको छ ।

‘बुढेसकालमा रामचन्द्र दाइले के राजनीति गर्नुभएको हो, के बुझ्नुभएको हो, के गर्न खोज्नुभएको हो अचम्म लाग्छ । सधैं संसदीय प्रणालीको पक्षधर हुँदै आएको मान्छे, अहिले पार्टीलाई यसका मूल्य मान्यताबाट विचलित बनाउन भूमिका गर्न थाल्नुभयो । पार्टी सभापति र प्रधानमन्त्री हुने इच्छा अब पूरा नहुने भयो । अब राष्ट्रपति हुने अन्तिम आशामा हुनुहुन्छ ।’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्– ‘त्यसैका लागि प्रचण्ड र माधव नेपाल कहाँ धाइरहनुभएको थियो । तर, एमालेले सभामुख र राष्ट्रपति छोड्दैन । पौडेलको अन्तिम इच्छा पनि पूरा हुने सम्भावना छैन । तर, आफ्नो बुढेसकालको लालच र अतृप्त घिडघिडोको लागि कांग्रेसलाई अप्ठ्यारोमा हालिरहनुभएको छ। पौडलको भूमिका उचित र सन्तुलित भएको भए सभापति देउवाले यस्ता धेरै गल्ती गर्न सक्ने थिएनन् ।’

कांग्रेस संस्थापन पक्षले भने प्रचण्ड सरकारलाई विश्वासको मत दिएर राम्रै गोटी चालेको निष्कर्ष निकालेको छ । त्यसले कम्तीमा एमाले र माओवादी, ओली र प्रचण्डबीच आंशकाको बादल लागेको छ । तत्काल राष्ट्रपति हात नलागे पनि प्रचण्ड कांग्रेसप्रति नरम देखिएकोमा संस्थापन सन्तुष्ट देखिन्छ । प्रचण्डले–‘सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रतिको भागबन्डामा कांग्रेससँग समेत सरसल्लाह हुने’ बताउँदै आएका छन्। प्रचण्डको यो रुझानले केही समयपछि परिणाम दिन सक्ने देउवा पक्षको आशा छ । सभामुख पद त कांग्रेसबाट गुमिसक्यो अब राष्ट्रपति पद बाँकी छ। त्यो पनि कांग्रेसले पाउने सम्भावना देखिदैन।

अध्यक्ष ओली निकट एमालेका एक नेता भन्छन्–‘उपसभामुख र उपराष्ट्रपति हुन सक्ला तर राष्ट्रपति एमालले कुनै हालतमा कसैलाई छोड्दैन । प्रधानमन्त्री प्रचण्डले यसमा कुनै व्यवधान गरे भने त्यो धोका मानिनेछ । प्रचण्ड र कांग्रेसको चोचोमोचो आवश्यक छैन ।’

एमाले उपमहासचिव तथा अध्यक्ष ओली निकट विष्णु रिमालले ‘प्रतिपक्षमा बस्ने साहस पनि नभएको पार्टीलाई राष्ट्रपति चाहिने रे’ भन्दै कांग्रेसमाथि कटाक्ष गरेका छन् । एमालेका केन्द्रीय सदस्य विष्णु रिमालले ‘सभामुख र राष्ट्रपतिबाहेक उपसभामुख र उपराष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भए’ ठीकै हुने आशयको ट्विट गरेका छन् ।

देउवाका निर्णय र कार्यशैलीबाट रुष्ट हुने कांग्रसजनको पंक्ति बढ्दै गए पनि उनीहरूसँग विकल्प भने सीमित छन् । गुरुराज घिमिरे लगायतका केही युवा नेताले विशेष महाधिवेशन बोलाएर देउवालाई विदा गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र अभ्यासको इतिहास हेर्दा तत्काल विशेष महाधिवेशन सहज र सम्भव देखिन्न ।

देउवा पार्टीको चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक सभापति भएको हुँदा नेपाली कांग्रेस अझै केही वर्ष उनकै नेतृत्वमा चल्ने देखिन्छ । देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्–‘जे कुरामा पनि सभापति देउवालाई अपजस लगाएर मिडियामा हिरो पल्टिने साथीहरूले पनि पार्टीको भविष्यमाथि खेलवाड गरेका छन् । महाधिवेशनमा उनीहरू हारेकै हुन् । संसदीय दलको चुनावमा हारेकै हुन् । लोकतान्त्रिक पार्टीमा जसले जित्छ, उसैको नेतृत्व र नीतिमा चल्छ । यो त लोकतन्त्रको विश्वव्यापी मान्यता हो ।’

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार ०६:३६