काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्।
उनले काठमाडौंको नयाँबजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन्। यसअघि बिहीबार मात्रै संघीय सभामुखमा निर्वाचित भएका देवराज घिमिरे पनि झापाकै हुन्। एमाले अध्यक्ष केपी ओलीको कोटाबाट सभामुख पाएका घिमिरे र रास्वपा अध्यक्ष रवि लामिछानेको पार्टीबाट उपसभामुखमा अगाडि सारिएकी राना मगर दुवै झापाली हुन्।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार १३:२९