प्रमुख विपक्षी दलको मान्यता माग गर्दै प्रेम सुवालले दिए सभामुखलाई पत्र



काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन्। सोही व्यहोराको निवेदन उनले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिए। निवेदनको बेहोरा सुनाउँदै उनले भने, ‘कानुनअनुसार नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस्।’

उनले कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै आपत्ती जनाए। सांसद सुवालले भने, ‘प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता नलिएसम्म कांग्रेसलाई प्रमुख विपक्षी दल भन्न मिल्दैन।’

सांसद सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन माग गर्दा दिएको आधार हो-‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको (पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३’

यो ऐनअनुसार सरकारलाई समर्थन नगर्ने दल मात्र प्रमुख विपक्षी दल हुन सक्छ । प्रतिनिधिसभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था यस ऐनमा छ ।

आम चुनावमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो । समानुपातिकतर्फ मत पाएकोलाई आधार मानेर नेमकिपाले आफूलाई ११औं ठूलो दल भनेको छ ।

अगाडिका १० वटा दलले सरकारलाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग छ।

Tags :

प्रकाशित: ७ माघ २०७९, शनिबार १७:३२