जनकपुर । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषामा दशगजा विवादले निर्माणाधिन पुल वर्षौंदेखि अलपत्र परेको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित जमुनी नदीको तुल्सीयाही बेला थलहीघाटमा निर्माणाधिन दुई सय मिटर लामो पुल ८ वर्षदेखि अलपत्र परेको हो। जनकपुरधामस्थित सडक डिभिजन कार्यालयको रेखदेखमा उक्त पुलको कार्य २०७१ मै निर्माण सुरु गरिएको थियो। निर्माण कार्य शुरु भएको ८ वर्ष बिति सक्दा समेत दशगज्जा विवादका कारण पूरा हुन नसकेको हो।
सडक डिभिजन कार्यालय जनकपुरले वि।सं। २०७१ साउन १५ गते बज्रगुरु म्याँग्लुंग जेभि जनकपुर वडा नं। ४ संग ४ करोड ७२ लाख ६४ हजार ६ सय २६ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले दुई वर्षमा काम समाप्त हुने गरि सो ठेक्का लिएको थियो। निर्माण कम्पनीले पुलको फाउण्डेशन पिलर तयार गरि करिब ५० प्रतिशत भन्दा बढी काम गरिसकेको अवस्थामा भारतीय पक्षले सीमाको विवाद झिक्दै पुल निर्माण कार्यमा अवरोध सृजना गरेको थियो। सीमा विवाद समाधान हुन नसक्दा पुल निर्माण कार्य हालसम्म ठप्प रहेको स्थानिय बताउँछन्। भारत र नेपालको सीमा विवाद थियो, भने सुरुमै रोक्नुपथ्र्यो, तर त्यो नगरि भारतीय पक्षले काम सुरु भएको झण्डै डेढ वर्षपछि मात्रै पुल निर्माणमा अवरोध गर्यो। पछि तत्कालिन प्रमुख जिल्ला अघिकारीको पहलमा नेपाल र भारतका सर्वे टोलीले सो पुलको नाप नक्सा समेत गरेको थियो। तत्कालिन भारतिय राजदुत मनजिवसिंह पुरीले पनि त्यो पुलको अनुगमन गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।
तर हाल सम्म पुलको काम अगाडि बढ्न सकेको छैन। नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने धनुषाको मुख्यिापट्टी मुसरनिया गाउँपालिका स्थित जमुनि नदीको तुल्सीयाही बेला थलहीघाटमा पुल दुवै देशको धार्मिक सांस्कृतिसँग समेत जोडिएको छ। १५ दिने मिथिला मध्यमा परिक्रमा तथा किशोरी जिको डोला सोही बाटो भएर आउने जाने गरेको छ। धार्मिक सांस्कृति रुपमा समेत जोडिएको बाटोमा पर्ने यो पुल निर्माण हुन नसक्दा सर्वसाधारणहरुलाई आवतजावत गर्न समेत समस्या हुँदै आईरहेको स्थानिय रामअयोधि यादवले बताए। निर्माण कार्य सुरु गरेको वर्षौं भईसक्दा पनि ठेक्केदार तथा सडक डिभिजन कार्यालयले चासो नदेखाउँदा समस्या झन बढेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादव बताउँछन्। उनका अनुसार निर्माण भईरहेको पुल नेपालको सिमा क्षेत्रमै रहेको छ।
तर ठेक्केदार र सडक डिभिजन कार्यालय जनकपुरको वेवास्ताका कारण पुल निर्माणमा करोडौं रकम भुक्तानी भईसक्दा पनि काम सम्पन्न हुन सकेको छैन्। निर्माणधिन पुलको काम विचमै छोडिएपछि यहाँबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेकी नेतृ जुली महतोले स्थलगत अवलोकन गरेकी छन्। सांसद महतोले पुलको अवलोकन गर्दै तत्कालै निर्माण कार्य अगाडि बढाउन ठेक्केदार र सडक डिभिजन कार्यालय जनकपुरलाई निर्देशन समेत दिएकी छन्। सडक डिभिजन कार्यालय जनकपुर र बज्रगुरु म्याँग्लुंग जेभी संगको सम्झौता बमोजिम वि।सं। २०७३ भदौ १५ गते भित्र निर्माण पुरा गर्नुपर्ने थियो ।
तर निर्माण सम्पन्न नभएपछि कार्यालयले वि।सं। २०७७ माघ ३० गते भित्र काम पुरा गर्न म्याद थप गरेको थियो। कार्यालयले उक्त पुल निर्माणको ठेक्का पाएको बज्रगुरु म्याँग्लुंग जेभीलाई हालसम्म २ करोड १२ लाख ९ हजार ८२ रुपैयाँ भुक्तानी गरिसकेको छ। पुल निर्माणको ठेक्का पाएका कम्पनीलाई एक साता भित्र पुनः काम सुरु गराउने सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख संजय मिश्रले प्रतिवद्धता व्यक्त गरे। यो पुलको हालसम्म दुई वटा पिलर को निर्माण कार्य सम्पन्न भइसकेको तथा बिचको पाईल क्याप सम्पन्न भइसकेको छ। अन्य थप सबै काम बाँकी नै रहेको छ।
प्रकाशित: ८ माघ २०७९, आईतवार ०६:३६