काठमाडौं। नेपाली कांग्रेसका संस्थापन पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताएका छन् ।
बत्तिसपुतलीस्थित एक होटलमा भएको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन्।
बत्तिसपुतलीमा आइतबार बसेको संस्थापन इतर समूहको बैठकमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन्।
इतर समूहको नेतृत्वकर्ता कोइरालाले विश्वासको मत दिन नहुनेबारे आफूले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कुरा राखे पनि नेतृत्वले सुनुवाइ नगरेको गुनासो पनि गरेको बत्तिसपुतली बैठकमा सहभागी एक नेताले बताए।
उनका अनुसार कार्यसम्पादन समिति बैठकमा बहुमतको निर्णय मान्नुपर्ने बाध्यतामा आफू परेको कोइरालाको भनाइ थियो।
‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौँ। तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादनमा राखेको थिएँ, त्यसको सुनुवाइ भएन,’ ती नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो। विश्वासको मत दिन हुने थिएन।’
बैठकमा सहभागी कांग्रेस नेता डा. चन्द्र भण्डारीले विश्वासको मतबारे छलफल भएको बताए।
‘विश्वासको मत दिएर गल्ती गरियो भन्ने त आउटपुट आउँदै छ। कति साथीहरुले गल्ती गरियो भन्ने छ। कतिलाई यत्रो हामी गठबन्धन गरेर गयौं, माओवादीले स्वार्थका निम्ति गए पनि हामीले ढोका बन्द गर्न हुँदैनथ्यो भन्ने पनि तर्क छ,’ बैठकपछि उनले भने, ‘कहीँ प्रतिपक्षमा बस्नुपर्छ, जनताका स्पष्ट दृष्टिकोण राखेर जानुपर्छ भन्ने पनि छ।’
नेता भण्डारीले विभिन्न तर्कलाई छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउन आफूहरुले छलफलको सुरुवात गरेको पनि बताए। ‘यी विभिन्न तर्कहरुलाई हामीले एउटा निष्कर्षमा पुर्याउनका निम्ति बल्ल छलफल सुरु भएको हो,’ उनले भने।
प्रकाशित: ८ माघ २०७९, आईतवार १२:२०