कांग्रेस इतर पक्षको बैठकमा देउवाको आलोचना, १० गतेको बैठकले आगामी रणनीति तय गर्ने



काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आइतबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

उनका अनुसार यी विषयमा केन्द्रीत भएर समूहका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए । ‘आजको बैठकमा आ–आफ्नो विचार दृष्टिकोण राख्ने काम भयो । यसबाहेक अरु कुनै निर्णय भएको छैन ।’, केसीले भने, ‘पर्सी अर्को बैठक बसेर आफ्नो रणनीति तय गछौँ ।’

बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरुले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए ।

देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराएका थिए । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरुले असन्तुष्टि समेत पोखेका थिए ।

यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दवाव दिनुपर्नेमा पनि नेताहरुले निष्कर्ष निकालेका छन्।

Tags :

प्रकाशित: ८ माघ २०७९, आईतवार १३:०८