काठमाडौं। भारतमा दुई नेपालीको अपहरणपछि हत्या भएको छ। जनकपुर उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो। उनीहरू अपहरणमा परेको सूचनापछि प्रहरीले खोजि गरिरहेको थियो। अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती माग गर्दै परिवारलाई फोन गरेका थिए। त्यसपछि परिवार आफन्तको सम्पर्कमा पुगेका थिए।
अपहरण भारतमा भएको र अपहरणकारी पनि भारतमै भएका कारण नेपाल प्रहरीलाई घटनास्थल पत्ता लगाउन समय लागेको थियो। पछि आफन्त फिरौती रकम बुझाउन जाँदा पनि अपहरणकारी भागेका थिए। अपहरणकारी फिरौती रकम लिन समेत नआएपछि प्रहरीले पत्ता लगाउन सकेको थिएन। अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको परिवारले जनाएको छ । अपहरणकारीले विष्णुका बुबालाई कहिले कहाँ कहिले कहाँ बोलाउने तर आफूहरु नआउने गरेर दुख: दिइरहेका थिए ।
पटक-पटक भनेको ठाउँमा रकम बोकेर जाँदा पनि अपहरणकारी नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरी भारतमै पुगेर दुवैलाई मृत अवस्थामा फेला पारेको हो ।विष्णुको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । संयुक्त प्रहरी टोलीले उनीहरुलाई राखिएको हुन सक्ने सम्भावित स्थानमा छापा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा नेपालका दुई तथा भारतका तीन गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फिरौतीका लागि गरेको टेलिफोन नम्बरका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ८ माघ २०७९, आईतवार १५:५४