काठमाडौं। नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको छ।
प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवासुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो।
कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई निवेदन दिइसकेको छ। नेमकिपाले प्रतिनिधिसभामा प्रमुख विपक्षी दल तत्काल तोक्न पनि माग गरेको छ। प्रतिनिधिसभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधिसभामा नेमकिपाबाट उनी एक जनामात्र सांसद छन्।
प्रकाशित: ८ माघ २०७९, आईतवार १८:०९