काठमाडौं। सत्ता साझेदार दलबीच भागवण्डा हुँदा राष्ट्रपति पद नेकपा एमालेले पाउने सहमति भएको नेताहरुले बताउँदै आएका छन्।
यो विषयमा माओवादी केन्द्रले अझै स्पष्ट पारेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिमा आफ्नो उम्मेदवार हुने र त्यसमै राष्ट्रिय सहमति बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
अब अध्यक्ष ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्लान भन्ने चासो देखिएको छ । केही दिन अघिसम्म सुवास नेम्वाङ र अस्टलक्ष्मी शाक्यको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । तर अहिले बालकोटमा अर्कै नाममाथि छलफल चलिरहेको स्रोतको दाबी छ।
एमालेका कतिपय कार्यकर्ताले बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति बन्ने सक्ने भन्दै सामाजिक संजालमा लेखिरहेका छन् । तर अहिलेसम्म चर्चामै नआएका व्यक्ति राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको ओली निकट स्रोतले जनाएको छ।
यसअघि सभामुखमा चर्चामा रहेका पृथ्वी सुब्बा गुरुङ र छबिलाल विश्वकर्मालाई पछाडी पारेर देवराज घिमिरे अगाडी आएका थिए । राष्ट्रपतिमा पनि त्यसरी नै नयाँ व्यक्ति अगाडी आउनसक्ने सम्भावना छ ।
अहिले एमालेमा यस्ता पदका लागि कुनै पनि कमिटीबाट औपचारिक निर्णय हुने गरेको छैन । मन्त्री र सभामुख बनाउँदा पनि एमालेका कुनै कमिटीमा छलफल भएन । पदाधिकारीले पनि अन्तिम समयमा मात्रै थाहा पाएका थिए ।
अध्यक्ष ओलीले कोटको खल्तिबाट निकाल्ने नाम नै अहिले अन्तिम हुने गरेको छ । सभामुखमा घिमिरेको नाम पनि त्यसरी नै निस्किएको थियो । नेपालभ्युजले एक साता अगाडी नै घिमिरे सभामुख बन्न सक्ने खुलासा गरेको थियो।
यसपटक अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन चाहेको स्रोतको दाबी छ । तर फाइनल नै भने भएको छैन । स्रोत भन्छ, ‘पोखरेलका बारेमा छलफल चलिरहेको छ तर अझै टुङ्गो लागिसकेको छैन । यद्यपी अध्यक्ष ओली उनलाई नै राष्ट्रपति बनाउने मनस्थितिमा छन् ।’
एमाले महासचिव शंकर पोखरेल पनि ईश्वरलाई राष्ट्रपति बनाउन तयार भएका छन् । तर हालका राष्ट्रपति विद्यादेवी भण्डारीले अझै ग्रीन सिग्नल नदिएकाले मात्रै ओलीले फाइनल गर्न सकेका छैनन् । भण्डारीले ओके गर्नासाथ ईश्वरलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
चुनाव हारेको व्यक्तिलाई राष्ट्पति बनाउन लागेको भन्दै पार्टीभित्रै विरोध आउन सक्ने भएकाले मात्रै ईश्वरका विषयमा ओलीले खुलेर भन्न सकिरहेका छैनन् । तर मनमा भने ईश्वर बसिसकेका छन् । केहीगरी ईश्वरलाई बनाउन नसकिने अवस्थामा डोरमणिलाई अघि सार्ने ओलीको योजना रहेको स्रोतको दाबी छ ।
ईश्वरलाई राष्ट्रपति बनाउन प्रचण्ड तयार नभए के गर्ने भनेर छलफल गर्दा विकल्पका रुपमा पौडेलको नाम अघि आएको बताइएको छ ।
नेम्वाङलाई रुचाउँदैनन् ओली
बाहिरबाट देख्दा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओलीको सम्बन्ध निकै राम्रो देखिए पनि आन्तरिक रुपमा भने त्यस्तो नरहेको बताइन्छ । चितवन महाधिवेशनबाट बिग्रन थालेको सम्बन्ध संसद् विघटनपछि तिक्ततामा परिणत भएको छ ।
महाधिवेशनमा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने अडान राखेका थिए । ओलीको निकै ठुलो कसरतपछि बल्ल उनी उपाध्यक्षमा बस्न मानेका थिए र ईश्वरलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।
संसद विघटनका बेला नेम्वाङले ओलीलाई त्यसो गर्दा कानुनी रुपमा औचित्य सावित नहुने पटक-पटक सम्झाएका थिए । अदालतले विघटन बदर गरेपछि पनि नेम्वाङले आफूले यसबारे ओलीलाई पहिले नै भनेको भन्दै सार्वजनिक रुपमा श्रेय लिएका थिए।।नेम्वाङको त्यही भनाइका कारण पनि ओली झन बिच्किएका छन् । अघिल्लो साता ओली र नेम्वाङबीच झण्डै २ घण्टासम्म भएको छलफल पनि तिक्ततामै टुङ्गिएको स्रोतको दाबी छ । उक्त भेटमा नेम्वाङले आफूलाई राष्ट्रपति बनाउन ओलीलाई आग्रह गरेका थिए ।
तर ओली तयार भएनन् । ओलीले सिधै नभने पनि संसदीय राजनीतिमा अझै तपाईको आवस्यकता रहेको भन्दै नेम्वाङलाई राष्ट्रपति बनाउन नसक्ने संकेत गरेका थिए । त्यसपछि नेम्वाङ रिसाएर उठेको बताइन्छ ।
कस्तो राष्ट्रपति चाहन्छन् ओली
अध्यक्ष ओली आफूनो छायाँ राष्ट्रपति बनाउन चाहन्छन् । हालका राष्ट्रपति विद्यादेवी भण्डारीजस्तै जे भने पनि मान्ने पात्र उनको खोजीमा थियो । यसअघि चर्चामा आएका अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ दुवैसँग ओली विस्वस्त थिएनन् । किनकी दुवै ओलीका भक्त थिएनन् । त्यसवाहेक चुनावमा प्रतिनिधिसभाको टिकट अश्विकार गरेपछि शाक्यसँग ओली थप चिढिएका छन् ।
अर्कातिर राष्ट्रपति विद्यादेवी भण्डारी पनि शाक्यको विरोधमा छिन् । अर्को कुनै महिला आफ्नो उचाइँमा नपुगोस भन्ने भण्डारी चाहन्छिन् । त्यसैले उनी शाक्यलाई कुनै पनि हालतमा राष्ट्रपति स्वीकार्न तयार छैनन् । बरु केही उपाए नलागे अमृतकुमार बोहरालाई अघि सार्ने तर शाक्यलाई भने कुनै पनि हालतमा नबनाउने योजना बनिसकेको बताइन्छ ।
अहिलेको सत्ता समिकरण अलि जटिल खालको भएकाले जुनसुकै समयमा पनि राष्ट्रपतिको भूमिका महत्वपुर्ण भएर आउने ओलीको ठम्याइ छ । त्यस्तो बेला ‘एस म्यान’ राष्ट्रपति भए मात्रै सहज हुने निष्कर्षसहित ओलीले ईश्वर पोखरेललाई अघि बढाउन खोजेको स्रोतले जनाएको छ ।
पोखरेलको नाममा सत्ता साझेदार दलबीच सहमति नजुटे दोस्रो विकल्पका रुपमा डोरमणि र त्यसमा पनि नभए बल्ल अमृत बोहरामा जाने ओली समूहको योजना रहेको बताइन्छ ।
प्रकाशित: ९ माघ २०७९, सोमबार ०९:३३