म्याच फिक्सिङ प्रकरण : ५ खेलाडीलाई अफर, तीनले गरे अस्वीकार



काठमाडौं। नेपाल टी-२० लिगमा स्पट फिक्सिङका लागि ५ खेलाडीलाई अफर आएको अनुसन्धानबाट खुलेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा कर्मसियल तथा रणनीतिक साझेदार रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्को आयोजनामा भएको लिगमा ५ खेलाडीमाथि फिक्सिङको प्रस्ताव आएको सीआइबीले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ।

फिक्सिङको अफर ३ खेलाडीले अस्वीकार गरेका थिए। उनीहरुले फिक्सिङको अफर आएपछि एसीयूलाई रिपोर्ट गराएका थिए। काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको बताएका थिए।

प्रस्ताव अस्विकार गर्ने तीन खेलाडी को हुन् भन्ने बारेमा भने सीआईबीले खेलाडीको नाम गोप्य राखेको छ। २ खेलाडीले भने फिक्सिङको प्रस्ताव स्वीकार गरे। प्रस्तावअनुसार नै मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको थियो। उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको अनुसन्धानबाट खुलेको छ।

फिक्सिङमा १ खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी रहेको अनुसन्धानबाट खुलेको छ। फिक्सिङमा व्यवस्थापकको भुमिकामा रहेका ४ जना, एक जना खेलाडी र बाहिरी व्यक्ति १ जनाको संलग्नता रहेको जनाएको छ। स्पट फिक्सिङको आरोपमा प्रहरीले पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमलाई पक्राउ गरिसकेको छ।

उनीहरुलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। जनकपुर रोयल्सबाट नेपाल टी-२० लिगमा ८ खेल खेलेका आदिलले फारवेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याकेको नो बलले उनी शंकाको घेरामा तानिएका थिए। महबुब आलम भने स्पट फिक्सिङका लागि बाहिरबाट भूमिका खेलेको बताइएको छ।

Tags :

प्रकाशित: १० माघ २०७९, मंगलवार १९:३४