यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा सुष्माले ऐतिहासिक रजत जितिन्



काठमाडौं। यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छन् ।

रजतमै सीमित हुनुपरे पनि उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो । सुष्मा बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन्।

यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा फाइनलमा पुगेकी थिइन्।

थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौलसमूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

नेपालका अन्य तीन खेलाडीले कांस्य पदक जितेका छन् ।

क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरी सेमिफाइनलमा पुगेकी ५७ केजी समूहकी हुमा राई, बाइ पाएर सिधै सेमिफाइनलमा पुगेकी ७५ केजी समूहकी त्रिशा जगेबु र पुरुषतर्फ ८६ केजी तौलसमूहका विजय बाटाले कांस्य पदक जितेका हुन्।

Tags :

प्रकाशित: ११ माघ २०७९, बुधबार १४:००