काठमाडौं। विशिष्ट व्यक्तिहरूले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरु हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका हुन्।
सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले बसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुदै आएको पाइन्छ।
सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन्।
वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो।
वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ।
प्रकाशित: १२ माघ २०७९, बिहीबार १२:२३