स्वास्थ्य राज्यमन्त्री तोसिमाले भनिन्- मृत्युमाथि राजनीति नगरौं



काठमाडौं। संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आर्चायलाई भेटेर भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन्।

किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला कार्कीले भिडियो खिचेर मिडियाबाजी गरेको भन्दै आलोचना भएको छ।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन्।
उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् ।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो । अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्र्दभमा आफूले आइसीयू प्रोटोकल पालना गरेको बताइन् । उनले भनेकी छन्,‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन ।’
उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरिन् ।

Tags :

प्रकाशित: १३ माघ २०७९, शुक्रबार ०९:४१