काठमाडौं। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिएका छन्।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए। तर, ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार प्रकाश आचार्यको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो। कार चालक विकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार ११:४०