प्रेमप्रसादको आत्महत्या प्रकरणमा भाटभटेनीका मालिकको बयान लिइयो



काठमाडौं। गत मंगलबार संसद् भवन अगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुसाइड नोटमा उल्लेख भएका विभिन्न व्यक्तिसँग सोधपुछ जारी राखेको हो। आगो लगाउनु अघि प्रेमप्रसादले फेसबुकमा लेखेको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको हो।

११ जना व्यक्ति तथा संस्थासहित नेपाल सरकारविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार जाहेरीमा अनुसन्धान भइरहेको छ।

६ हजार ५५३ शब्दको स्ट्याटसमा उनले धेरैको नाम लेखेका थिए। ती नाम मध्यबाट आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरूमाथि सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

प्रेमप्रसादले भाटभटेनी सुपरमार्केटलगायतलाई उधारोमा सामान दिइरहेको उल्लेख गरेका थिए। त्यो सामान बेचेर मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको स्ट्याटस लेखेका थिए। सोही विषयमा बुझ्न सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।

पीडित परिवारलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता स्वागत नेपालका अनुसार घटनामा आवश्यक विवरण र भौतिक सबुत जुटाउने काम भइरहेको छ।

अनुसन्धान सकिएपछि प्रहरीले आफ्नो अनुसन्धान सरकारी वकिलको कार्यालयमा पेस गर्ने छ। अनुसन्धान गर्दै जाँदा कतिपय व्यक्ति पक्राउ गर्नुपर्ने वा नपर्ने खुल्दै जाने प्रहरीले बताएको छ।

आफैँलाई आगो लगाउनुअघि प्रेमप्रसादले फेसबुकमा एउटा लामो विवरण लेख्दै ‘‘आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको’’, त्यसका लागि ‘‘सरकारी नीतिहरू दोषी रहेको’’ सोही कारणबाट आफूले मानसिक समस्या भोगेको र ‘‘कुनै उपाय नदेखेपछि आत्मदाहको बाटो रोजेको’’ उल्लेख गरेका थिए।

आत्महत्या दुरुत्साहन पुष्टि भएमा के हुन्छ ?
मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ।

ऐनको दफा १८५ मा “आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन” भनिएको छ।
विसं २०७५ साल भदौबाट कार्यान्वयनमा आएको यो कानुनी व्यवस्थाबारे यसबीचमा विभिन्न व्याख्या भएका छन्।

 

Tags :

प्रकाशित: १६ माघ २०७९, सोमबार १६:२८