कार्यविभाजनमा कुरा नमिल्दा माओवादी स्थायी समिति बैठक सर्यो



काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्यविभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो।

पार्टीको संगठनसम्बन्धी होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

उनले भने, ‘हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ती होमवर्क गरेको कुरालाई यहाँ टुंगो लगाएर भोलि स्थायी समिति बैठक बस्ने सेड्युल थियो। आज पनि छलफल चल्यो। यो होमवर्क अझै टुंगिएको छैन। त्यसकारण आज र भोलि होमवर्क गर्ने पर्सी स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो।’

उनले थपे, ‘यति मात्रै हो आज। पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो। आज संगठन सम्बन्धी विषयमा पनि मात्रै छलफल भयो। त्यो टुंगिएको छैन।’

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो। त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो।

पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलवार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।

बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए।

Tags :

प्रकाशित: १६ माघ २०७९, सोमबार १७:१६