काठमाडौं। संसद् भवन अगाडि गत मङ्गलबार शरिरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिएको जानकारी दिए।
प्रहरीले उक्त घटनासँग जोडिएका विभिन्न व्यक्तिसँग सोधपुछ तथा बयान लिने क्रम जारी राखेको छ। स्वर्गीय आचार्यले आत्मदाह गर्नुअघि लेखेको पत्रमा उपेन्द्र महतो र डा. समता प्रसादको नाममा रहेको नेपाल ग्रामोद्योग कम्पनीले प्राकृतिक ब्रान्डमा घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेका थिए।
पत्रमा आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकीबक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेका थिए ।
इलामका ३७ वर्षीय आचार्यको मृत्युपछि उहाँकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
६ पृष्ठ लामो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परेको परिसर स्रोतले बताएको छ। अनुसन्धानका क्रममा परिसरले सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको थियो।
मङ्गलबार परिसरले सान इन्टरनेसनल कलेजका सञ्चालक सुवास आचार्य तथा सुजुकी कम्पनीको नेपालका डिलरसँग पनि बयान लिएको छ।
परिसर प्रमुख कार्कीले आत्मदाहसँग जोडिएका आर्थिक कारोबारको समेत अनुसन्धान अघि बढेको जानकारी दिए। किटानी जाहेरीका आधारमा बयान लिइएका व्यक्तिहरूको बयान लिखित रूपमा सुरक्षित राखिएको छ। सम्बन्धित समाचार प्रेमप्रसादको आत्महत्या प्रकरणमा भाटभटेनीका मालिकको बयान लिइयो प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन गर्न समिति प्रेमप्रसादको निधन राज्यको असफलता र भयानक संकेत हो : बालेन संसद भवनअघि आफ्नै शरिरमा आगो लगाएका आचार्यको मृत्यु
प्रकाशित: १८ माघ २०७९, बुधबार ०८:५६