काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली र लिङदेन बालुवाटार पुगेका हुन्।
भेटवार्तामा राष्ट्रपति चुनाव, पछिल्लो समय गठबन्धनमा देखिएको समस्या लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
एमालेले आफैले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान लिएको छ भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट रहेको र गठबन्धनमै समस्या आउन थालेको विषयमा पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
सर्वोच्चले नागरिकता अवैध भएको फैसला गरेसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएको छ।
गृह मन्त्रालयमा रास्वपाले दाबी गरेको छ भने प्रधानमन्त्री प्रचण्ड त्यसका लागि तयार छैनन्।
यसअघि रविले मंगलबार बेलुका अध्यक्ष ओलीलाई भेटेर गृहमन्त्रालय दिने वातावरण बनाइदिन आग्रह गरेका थिए।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गरेर केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेशमा पनि असहयोग गर्ने चेतावनी दिएको छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार ११:२५