काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’
ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए। उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ। खटपट भएको छैन। हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ। रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो। उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन।’
ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिका लागि चाहना गर्नु अनौठो कुरा नभएको बताएका छन् । तर, सत्तापक्षकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरे।
‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो । तर राष्ट्रपतिको उम्मेदवार हुन्छु, हामीलाई दिनुस भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन।’
प्रधानमन्त्री प्रचण्डले भनेजस्तो राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले घुमाउरो जवाफ दिए। ‘अहिले बनेको नयाँ समीकरणको उम्मेदवारलाई यदि कांग्रेसले पनि सहमति गर्यो भने राष्ट्रिय सहमति हुन्छ।’
ओलीलाई गृहमन्त्री पाएमा सरकारमा जाने भनी हालै कांग्रेस नेता शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिबारे सोधियो।ओलीले जवाफ दिए, ‘कांग्रेस त गृह राज्यमन्त्री पाए पनि सरकारमा आउँछ।’
प्रकाशित: १९ माघ २०७९, बिहीबार १३:०८